Sunday, 9 July 2017

प्रदेशी.....
एक जुग पछि फर्केर हेरेँ,आफू आएको बाटो लामो भई सकेछ। बिरानो भई सकेछ। बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परि सकेछन। खण्डहर जस्तो घरको मझेरीमा दु:खी आमालाई एक्लै छोडेर भिरालो पाखो बारीमा बूढा बालाई एक्लै छोडेर एक जुग अघि हिँडेको म यी बिराना सडकहरु नापि रहेछु, निरन्तर पोखि रहेछु। बिरानो माटोमा पसिना तरतर भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल ? किनकि मेपलहरुले मलाई अपनाउँदैनन् किनकि साकुराले मलाई आफ्नो ठान्दैनन्।

न त मध्यरातको सूर्य मेरो हुन सक्छ।
न म छ महिने हिउँमा रमाउँन सक्छु।
न म खाडीमा अड्डा जमाउँन सक्छु।
र नेपालसंग मागौँ भने मेरो जवानीले मैले नेपाल सिच्न पाईन।

एक जुग पछि.....
हिजो सपनीमा घर गएँ सुटुक्क,आगो लिन गए झै गएँ सुटुक्क,तीन बर्षे भतिजीले सोधी,तिम्लो घल काँ हो ? एक जुग अघि घर छोडेर हिँडेको म,घरमा पराई भई सकेछु। बिदेशमा सधै बिदेशी म देशमा पनि बिदेशी भई सकेछु। सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।

एक जुग अघि घर छोडेर हिँडेको म सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।
                  Keshav Raj Adhikari

No comments:

Post a Comment