लघु कथा :- खाडीमा पैसा फल्ने रुख
केशब राज अधिकारी
यहाँ मलाई सबै भन्दा रिस उठ्ने समय भनेको बिहान हो। किनकि भर्खर सुते जस्तो मान्छु,तर मोबाईलको आलार्म बज्छ। अाज त उठ्दिन भनेर आलार्मलाई स्नोज गरेर सुत्छु। कम्पनीबाट सुपरभाईजरले फोन गर्छ। अझसम्म ड्युटी अाएको छैनस। तेरो बाउको कम्पनी हो ? रिसले अनुहार रातो बनाउँछु, लागेको निद्रा र अल्छीपना गायब हुन्छ। जुरुक्क उठेर मुख पनि नधोईकन अाँखा मिच्दै ड्युटी जान्छु। कम्पनी गएर सुपरभाईजरको घाँटी समातेर हुत्याउँदै सडकमा पछार्न मन लाग्छ,तर त्यसो गर्न सक्दिन। अनि काम गर्न शुरु हुन्छ खाडीको दैनिकी। तर उता नेपालमा बस्नेहरुको लागि मस्तको दैनिकी छ मेरो। बिदेशमा बसेको छ,खायो,पियो,मस्ती गर्यो भन्छन सबैले। तर यता आफ्नो हालत चाहि मनाङ्ग मुस्ताङ्म तिर नूनका भारी बोक्ने खच्चड र गधाको भन्दा पनि बेहाल छ। उठ्यो,ड्युटी गयो, आयो,पकायो खायो अनि सुत्यो। सुपरभाईजर र अरबी स्टाफका गाली अनि तुच्छ व्यवहारको त के बयान गरुँ ? सबै कुरा फोन गरेर घरमा भन्ने हो भने घरमा परिवार रुन्छन। स्वास्नी केटा,केटीले आजै आउँनुस,आजै फर्किनुस भन्छन।
तर घर गएर पनि मैले सुख त पाउँला,तर भबिष्य बन्दैन। हामी छोरा मान्छेलाई उता पनि रुने,यता पनि रुने अभागी खप्पर। तर काम गर्न मन नलागे पनि ड्युटी गर्नै पर्ने बाध्यता हुन्छ। छुट्टी लिएर बस्ने अाराम गर्ने घुम्ने रहर त कसलाई हुँदैन र। तर एक दिन काममा गएन भने त्यसको सजाय स्वरुप एक हप्ताको सेलरी काट्छ। एक दिन दुख गर्यो भने नेपालमा परिवारलाई दुई महिना दूध किनेर ख्वाउन सकिन्छ। एक एक हिसाब गर्छु,यहि हिसाब गर्ने बानीले अहिलेसम्म खाडीमा टिकाएको छ। दुई चार रुपियाँ कमाएको छु। अझ एउटा कुरा अचम्मको छ। म खाडी छिरेपछि प्रशस्त साथीहरु बनाएको छु। पहिला नेपालमा बस्दा खेरी गाउँ घरका ठिटाहरु नचिने झै गरी मुन्टो बटारेर हिँडनेहरु पनि आज भोलि फेसबुकमा साथी बनेका छन। नेपालमा छँदा खेरी नचिन्ने गाउँका ठिटाहरु फेसबुकमा च्याट गर्दै भन्छन। भाई भिषा निकाल्न सक्छस भने मलाई एउटा राम्रो भिषा पठाईदेन यार। उसले यस्तो म्यासेज पठाउँदा त आफू त ठुलै मान्छे भईएछ झै लाग्छ। नेपाल हुँदा मान्छे नगन्ने मुलाहरु पनि आज भोलि च्याटमा सन्चो बिसन्चो सोध्छन।
बात गर्दै जाँदा लास्टमा भन्छन। कहिले आउँदैछस नेपाल ? बरु आउँदा खेरी एउटा राम्रो मोबाईल ल्याईदेस। गाउँका साथी भाईहरु मोबाईलको आशामा बसेका छन। तिनीहरु सोच्छन,खाडीमा मोबाईल फल्ने स-साना रुख हुन्छन। मैले त टिप्दै पठाउँदै गर्ने हो। अझ अस्ति एउटा साथीले मेसेन्जरमा फोन गरेर थर्काउँदै भन्यो। जाबो एउटा मोबाईल पनि पठाउँन सक्दैनस ? कोहि नेपाल अाउँने मान्छेसंग एउटा राम्रो मोबाईल पठाईदेन यार। तर मोबाईल चाहि अलि दामी है। आहा ! क्या सजिलो छ है थर्काउँन। दिन भरी आँखा मिच्दै काम गरेको ड्युटीबाट कमाएको पैसाले अहिलेसम्म आमालाई एउटा साडी किन्न सकेको छैन,श्रीमतीलाई एउटा कपडा किन्ने सपना मात्र हुँदैछ। बल्ल बल्ल अाएको ऋण तिरेर सकिँदै छ। साथीहरु चाहि हजारौको मोबाईल रोज्छन। अनि भन्छन,जाबो एउटा मोबाईल पठाउँन सक्दैनस ? भर्खर ड्युटी सकेर कोठामा अाएर अाराम गर्दै थिएँ। एउटा साथीले म्यासेन्जरमा कल गरेर भन्यो। साथीहरुसँग ईन्डियातिर घुम्न जाँदैछु,दस हजार रुपियाँ आईएमई गर्दे न यार।
झनक्क रिस उठ्यो,कहिले काहीँ बजारतिर घुम्न जाँदा पैसा खर्च हुन्छ भनेर छुट्टीको दिनमा रुममै बस्छु। छुट्टिको दिनमा साथीहरु भेट्न जाँदा पैसा खर्च हुन्छ भनेर आजसम्म बजारतिर घुम्न गएको छैन। साथीहरु चाही कति सजिलै भन्छन कि दश हजार रुपियाँ आईएमई गर्दे। उसले सोच्छ होला,खाडीमा पैसा फल्ने रुखहरु हुन्छन। टिपेर प्याक गरेर राख्यो। माग्नेले मागे जति पठायो। आज भोलि त ती तमाम साथीहरुसँग बोल्न पनि मन लाग्दैन। जो हेल्लो हाई गर्न भन्दा पहिला मोबाईल, ल्यापटप अनि पैसा माग्छन। सबैले सोच्छन, खाडीमा पैसा रुखमा फल्छ। तर यहाँको दुःख, गर्मी,तनाब अनि मनको पीडा त्यसले मात्र बुझ्छ। जसले खाडीमा काम गरेर पसिना चुहाएको छ। नेपालमा बसेर महिनामा लाख कमाउँने मानिसहरु पनि नेपाल आउँदा के ल्याईदिन्छस केटा भन्दै म्यासेज गर्छन। अलिकति नुनिलो स्वादको पसिना ल्याईदिन्छु भन्न मन लाग्छ,तर भन्दिन। किन भने ती बिचरा मुर्खहरुलाई के थाहा कि यहाँ काम गर्दा कति नुनिलो पानी बग्छ भनेर। उनका लागि त गगनचुम्मी महल,चिल्ला फराकिला बाटा अनि ब्यस्त बजार नै खाडी हो। दुःख,पीडा,गर्मी,गाली, अपमान सहने म छँदैछु नि।
साँच्चै भन्ने हो भने एक लाख रुपियाँ सय कडा तीन रुपियाँ ब्याजमा काडेर खाडी छिरेको म साँवा र ब्याज तिर्न पनि एक बर्ष भन्दा धेरै लाग्यो। त्यो भन्दा पछाडी कमाएको केही रुपियाँ घर खर्चमै ठिक्क हुँदैछ। मनले प्रिया प्रिया भन्दै श्रीमती र घर परिवारको याद गर्दैछ। आमाले त बरु एक छाक खाउला,तर अब आईजा भन्दै हुनुहुन्छ। अब यस्तो बेला दुई चार पैसा जोडेर नेपाल फर्कन पाए बाँकी जिबन उतै बिताउँन हुन्थ्यो। तर साथी भाईको आवश्यकता,घर परिवारको आवश्यकता अनि आफ्ना रहरहरुले गर्दा अझै एक दशक यतै बिताउँने छाँटकाँट देख्दैछु। यो रहर होईन,बाध्यता हो। म त बाध्यतामा खाडी छिरेको हुँ। अाफन्त,साथी भाईले मलाई त रहरले खाडी छिरेको जस्तो व्यवहार सबैले गर्छन। मोज गरेको छस यार भन्ने साथी भाई र कति उतै बस्छस,अब त नेपाल आईजा भन्ने घर परिवार सबैले मेरो बाध्यता बुझ्दैनन। अस्ति चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो फेसबुकमा पोष्ट गरे।
साथीहरुले कमेन्ट गर्दै भने। वा क्या हेन्डसम ! मस्ती छ है। अनि त्यसैको तल अर्को साथीले लेख्यो,लास्टै हेन्डसम भएको छस यार के खान्छस ? सबैलाई भ्रम थियो। मैले न मस्ती गरेको छु,न त हेन्डसम नै भएको छु। नाना थरीका मोबाईल क्यामराले मलाई सुन्दर पक्कै बनाएको थियो। तर वास्तविकता फरक थियो। अनिदो, नमिलेको खानपान अनि हरेक दिनको ड्युटीले म खस्कँदै थिए। तै पनि नेपालमा बस्नेहरुका लागि हट,हेन्डसम अनि खाई लाग्दो भएको छु। कुन दिन झोक चल्छ,रिल वाला क्यामराले ड्युटी गर्दै गरेको फोटो खाना खाँदाको तस्बिर पोष्ट गर्छु। अनि के भन्छन खोई ती तमाम दोस्ती अनि आफन्तले ? खाडी आफैमा पीडा,दुःख अनि अन्योल भबिष्यको झाडी हो। यहाँ न पैसा फल्ने रुख छन न त फेसबुकमा देखिने जस्तै मस्तीको जिन्दगी छ। आधा पेट अनि फ्रिजमा राखेको बासी खाना खाएर ड्युटी कुद्नु पर्ने बाध्यता, आगोले भन्दा पनि बढि पोल्ने गर्मीमा खटिनु पर्ने बाध्यता सबै खाडीमै छन। त्यसैले मित्रहरु जस्तो सोच्नु हुन्छ,त्यति सजिलो छैन खाडी। दुःख धेरै गरेर परिवार पाल्ने सपना देखेर आएको हुँ। मोबाईल,ल्यापटप अनि थोरै खर्च मागेर सर्मिन्दा नबनी दिनु होला।
पढ्नेलाई सुनको माला !
कथा लेख्नेलाई फुलको माला !!
पढेर लाईक कमेन्ट गर्ने बैकुण्ठमा जाला !
पढ्दै नपढ्नेलाई कुठाउँमा सुके लुतो आओस !
पढेर पनि लाईक कमेन्ट नगर्नेलाई पखाला चलोस !!
No comments:
Post a Comment